एनक्याप क्र्यास टेस्टमा टाटा नेक्सन ईभीले पायो ५ स्टार सुरक्षा रेटिङ

एनक्याप क्र्यास टेस्टमा टाटा नेक्सन ईभीले पायो ५ स्टार सुरक्षा रेटिङ

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । टाटा मोटर्सको लोकप्रिय इलेक्ट्रिक एसयूभी नेक्सन ईभीले एनक्याप क्र्यास टेस्टमा वयस्क र बालबालिका दुवैको सुरक्षाका लागि ५ स्टार रेटिङ प्राप्त गर्न सफल भएको छ ।

कठिन परीक्षण प्रक्रियामा नेक्सन ईभीले वयस्क सुरक्षाका लागि ३२ मध्ये २९.८६ अंक र बाल सुरक्षाका लागि ४९ मध्ये ४४.९५ अंकको प्रभावशाली स्कोर हासिल गरेको हो । ६४ किलोमिटर प्रतिघण्टाको गतिमा गरिएको फ्रन्टल इम्प्याक्ट परीक्षणमा चालक र अगाडिको यात्रुको टाउको र घाँटीको सुरक्षा राम्रो पाइएको थियो। चालकको छातीको सुरक्षालाई सन्तोषजनक मानिएको छ भने अगाडिको यात्रुको छातीले राम्रो रेटिङ पाएको छ।

साइड इम्प्याक्ट परीक्षणमा गाडीलाई ५० किलोमिटर प्रतिघण्टाको गतिमा साइडबाट ठोक्काइएको थियो। यस परीक्षणमा नेक्सन ईभीले चालकको टाउको, छाती, पेट र कम्मरको सुरक्षाका लागि उत्कृष्ट अंक प्राप्त गर्‍यो। साइड पोल टेस्टको नतिजा पनि सकारात्मक रह्यो, विशेष गरी छातीको सुरक्षामा राम्रो प्रदर्शन देखिएको कम्पनीको दाबी छ।

बालबालिकाको सुरक्षाको लागि गरिएको परीक्षणमा पनि नेक्सन ईभीले उत्कृष्ट प्रदर्शन गरेको छ । यसमा ४९ मध्ये ४४.९५ अंक प्राप्त गर्‍यो, जसमा डायनामिक परीक्षणमा २४ मध्ये २३.९५ अंक समावेश छ। परीक्षणमा १८ महिनाको बच्चा र ३ वर्षकी बालिकाको डमी प्रयोग गरिएको थियो। १८ महिनाको बच्चाको लागि अगाडि फर्काएर राखिएको सिटमा ७.९५ अंक प्राप्त भयो भने ३ वर्षकी बालिकाले बुस्टर सिटमा पूर्ण ८ अंक प्राप्त गरिन्।

टाटा नेक्सन ईभी ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल, ब्रेक असिस्ट, र रियर पार्किङ सेन्सरसहितको रिभर्स क्यामेरा जस्ता सुरक्षा सुविधाहरूले सुसज्जित छ। साथै ३६०ं डिग्री क्यामेरा, फ्रन्ट पार्किङ सेन्सर, रियर डिस्क ब्रेक, र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता अतिरिक्त सुविधाहरू उपलब्ध रहेका छन्।

Logo