मृत्युको कला सिकाउने गुरु ओशोको अज्ञात मृत्यु

मृत्युको कला सिकाउने गुरु ओशोको अज्ञात मृत्यु


२०औं शताब्दीका महान गुरु ओशोले सन १९६९ अक्टोवरमा भारतको गुजरातको द्वारिका मा एउटा ध्यान शिविर संचालन गर्नुभयो। त्यसको नाम थियो “मै मृत्यु सिखाता हुँ”। उक्त शिविरमा दिनुभएको प्रवचनहरुको संकलन अहिलै “मै मृत्यु सिखाता हुँ” भन्ने पुस्तकको रुपमा उपलब्ध छ। मान्छेको जन्म र मृत्युको रहस्यहरुको चर्चा ओशोले त्यस शिविरमा गर्नुभयो। समुन्द्रको किनारमा भएको उक्त बहुत अदभुत शिविरमा ओशोलाई एकजना साधकले प्रश्न गर्दछन् तपाईंले मृत्यु सिकाउँदै हुनुहुन्छ तर सिकाउनुपर्ने त जिवनको कला होइनर ? महान् गुरु ओशोले भन्नुभयो जस्ले मृत्युको कला सिक्दछ उ जिवनको कलामा पनि निपुर्ण हुन्छ । जो मर्नको लागी राजी हुन्छ। उ परम जिवनको अधिकारी पनि हुन्छ । मृत्यु जन्मको नै विकास हो । जन्म र मृत्युमा कुनै बिरोध छैन। जिवनलाई जान्ने द्वार नै मृत्यु हो। जिवन र मृत्यु बिपरित कुरा होइनन् । परम जिवनको दुईवटा खुट्टा छन् एउटा जन्म र अर्को मृत्यु । यहाँ मान्छेहरु चाहन्छन कि मर्नु नै नपरोस्। जुन दिन जिवन मृत्युसँग बस्न राजी हुन्छ त्यसदिन जिवन परम जिवन बन्दछ । मृत्यु सगँ राजी हुने व्यक्तिको जिवन बिजयको जिवन हुन्छ।

मृत्युको कला सिकाउने ति महान गुरुले मृत्युको सम्बन्धमा नविन कुराहरु प्रस्तुत गर्नुभएको छ। हामीले मृत्युलाई स्वीकार गर्नु पर्दछ । जिवनको सबैभन्दा ठूलो रहस्य “मर्न सिक्नु, अनि मृत्युलाई स्वीकार गर्नु” हो। हामी अतितलाई स्मरण गर्दै अतितलाई मर्न दिदैनौ । जिवनको अतितको बोझ लिएर हिड्छौँ । ओशोको भनाई अनुसार मर्ने कलाको एउटा सुत्र त्यो हो जुन कुरा मर्‍यो त्यसलाई मर्न दिनुस्। त्यसको बोझ लिएर नहिडनुस्। जुन अतित थियो त्यसलाई स्मृतीमा संहालेर राख्न जरुरी छैन । त्यसलाइ बिदा हुन दिनु पर्दछ। यस पङतीकारले ओशोको “मै मृत्यु सिखाता हुँ” भन्ने पुस्तकका उदगारहरु यहाँ प्रस्तुत गर्ने प्रयास गरेको छु। २०औं शताब्दीका महान रहस्यदर्शी ओशोको भनाई अनुसार जन्म र मृत्यु एउटै घटनाका दुई पाटा हुन्। मृत्यु र जन्म दुई घटना होइनन्। यदि व्यक्ति होसपुर्ण तरिकाले मृत्युलाई देख्न सक्छ भने उ होसपुर्ण तरिकाले जन्मन पनि सक्छ। मृत्यु यदि होसपुर्ण भयो भने जन्म पनि होसपुर्ण हुन्छ। होसपुर्ण तरिकाले मर्नको लागी मर्नु भन्दा धेरै पहिला देखि तयारी गर्नु पर्दछ । उसको तयारी भएन भने त्यस व्यक्ति मृत्युको समय बेहोश भईहाल्छ। मृत्युमा प्राण एक शरिरबाट हटेर अर्को शरिरमा प्रवेश पाँउछ।

ओशोको मृत्युको कला सिक्ने सुत्र अनुसार मृत्युमा होशपूर्ण हुनको लागी हामीले सानो सानो दुखमा जाग्ने प्रयोग गर्न सुरु गर्नु पर्दछ। दुखमा मात्र होइन सुखमा पनि जाग्ने प्रयोग गर्नु पर्दछ । कसैले गाली गर्‍यो भने त्यसमा आउने दुखलाई पनि टाढाबाट हेर्ने प्रयास गर्नु पर्दछ । जिवनमा आउने दुख र सुखलाई टाढाबाट हेर्ने साधना गर्नु पर्दछ।

आत्मालाई जान्ने क्षण मृत्यु हो । हामीले मृत्युमा जाग्ने तयारी गर्नु पर्दछ। मृत्युमा जाग्ने कला ध्यान हो। ध्यानको तयारी चलिरह्यो भने मृत्युको क्षणमा पुर्ण ध्यान उपलब्ध हुन्छ। जुन व्यक्तिको मृत्यु होशपूर्ण अवस्थामा हुन्छ उसको आत्माले होशपूर्ण रुपमा नै जन्म लिन्छ। उ आमाको गर्भमा पनि प्रतिपल होशपुर्ण नै हुन्छ।

जिसस, बुद्ध, महाविर ओशो यस्ता व्यक्तिहरु हुन जस्ले होशपुर्ण तरिकाले मृत्युवरण गरेका थिए। होशपुर्ण तरिकाले मृत्युमा प्रबेश गरेको ब्यक्तिले आफ्‌नो आमाबुबाको छनोट गर्न सक्छ। जागेको व्यक्तिले कहाँ जन्म लिऊ भनेर उसले छानेर जन्म लिन्छ। जब जन्म नै हाम्रो जागेर हुन्छ भने जिवन पनि जागरण‌मा हुन्छ। उसको जिवनमा मुक्ति घटित हुन्छ।हामीले मृत्यु हुदैन भन्ने जान्नु नै मृत्यु माथी विजय हो। जस्ले मृत्युलाई थाहा पाएको छैन उसले जिवनलाई थाहा पाउन सक्दैन।
जस्ले मृत्युलाई जान्दछ उसले मृत्युको बस्त्र हटाएर जिवन पनि जान्दछ।मृत्यु जिवनलाई जान्ने द्वार हो। जस्ले मृत्युलाई प्रेम गर्न सक्दैन भने उसले जिवनलाई कसरी प्रेम गर्न सक्दछ ?

नेपालमा ओशो अभियानका प्रणेता स्वामी आनन्द अरुणले गुजरातमा भएको ओशोको त्यस ध्यान शिविरमा पहिलो पटक भाग लिनु भएको थियो। पटनामा इन्जिनियरीङ पढ्दै गरेका स्वामी अरुण त्यसबेला उक्त शिविरमा भाग लिन एक्लै नेपालबाट जानुभएको थियो । नेपालमा ओशो देशनाको प्रचारको बिजारोपण त्यहि शिविरमा भएको थियो। स्वामी अरुणले त्यस वेला आचार्य रजनिशको रुपमा भारतमा प्रख्यात ओशोलाई उहाकै निवासमा ब्रम्ह मुहुर्तमा बहुत आश्चर्यजनक र रहस्यपुर्ण ढंगले भेट गर्नुभएको थियो। उहाँको पहिलो प्रत्यक्ष रुपमा ओशो सग भेटघाट र वार्तालाप त्यसै शिविरमा भएको थियो। उक्त शिविर र ओशोसगँ पहिलो पटक प्रत्यक्ष भेटघाट र वार्तालाप भएको क्षणहरुको स्वामी अरुणले आफ्नो पुस्तक अन्तर्यात्रामा अदभुत बर्णन गर्नुभएको छ।

ओशोको जिवन जति रहस्यमय थियो उहाको मृत्युपनि त्यत्ति नै रहस्य पुर्ण थियो। उहाले १९ जनवरी १९९०मा भारतको पुना शहरमा रहेको कोरेगाव पार्क क्षेत्र स्थीत आश्रममा आफ्नो शरिर छोडनु भएको थियो। उहाले शरिर छोडेको अहिले ३६ बर्ष भयो । उहाको मृत्युको यतिका बर्षपछि पनि उहाको मृत्युलाई लिएर कयौं प्रश्नहरु छन जसको उत्तर पाइएको छैन त्यसैले उहाको मृत्य‌को सन्दर्भमा अझै थप रहस्य थपिदै गईरहेको छ।

ओशोको मृत्यको संबन्धमा अभय बैध भन्ने एक जना भारतका प्रख्यात लेखकले “हु किल्ड ओशो” भन्ने पुस्तक लेखेका छन। उनले उक्त पुस्तकमा ओशोको मृत्यु अस्वभाविक र षडयन्त्र मुलक भएको खुलासा गरेका छन। उनले १९ जनवरी १९९० मा भएको ओशोको निधनबारे उनले करिब ३० बर्षसम्म गरेको खोजबाट निस्केका विविध रहस्यहरु उक्त पुस्तकमा उजागर गरेका छन। ओशोको मृत्यु हुनुभन्दा करिव दुई वर्ष पहिला देखि नै ओशोलाई आफ्नो परिवारका कुनैपनि सदस्यलाई भेटन दिइएको थिएन।

ओशोको मृत्यु प्रमाणपत्र जारी गर्ने डाक्टर गोकुल गोकाणीले लामो समय सम्म उनको मृत्युको बारेमा मौन बसेर लामो समयको मौनता भङ्ग गर्दै ओशोको मृत्यु प्रमाणपत्रमा उनलाई गलत जानकारी दिएर हस्ताक्षर गराईएको वताएका थिए। डाक्टर गोकाणीका अनुसार ओशोको मृत्यु हृद‌यघातको कारणले भएको भन्दै ओशोको नजिक रहेका शिष्यहरुले उनलाई मृत्यु प्रमाणपत्रमा त्यहि लेखेर हस्ताक्षर गर्न दबाब दिएका थिए।

त्यसबेला ओशोकी सेक्रेटरी मा. योग निलम थिईना। मा. योग निलमले धेरै पछि एउटा अन्तर्वार्तामा उनको मृत्युसँग सम्बन्धित केहि रहस्यहरुको बारेमा थोरै बोलेकी थिइन। मा. निलमका अनुसार ओशोको मृत्युको सुचना आश्रम भित्रै रहेकी उहाको आमालाई पनि निकै ढिला जानकारी गराईएको थियो। ओशोकी आमाले उनलाई लामो समयसम्म आफ्नो छोरालाई उनिहरुले मारेको भन्दै आइरहेकी थिइन।

ओशो तपोवन‌का आचार्य स्वामी आनन्द अरुणले ओशोको मृत्यु भएदेखी नै ओशोको मृत्यु स्वभावीक नभई हत्या नै भएको भन्दै आइरहनु भएको छ।स्वामी आनन्द अरुण भन्नुहुन्छ ‘जब ओशोलाई अमेरिकामा पक्राउ गरि जेलमा राखियो त्यहा उहाँलाई थालियम नामको मन्द बिष दिइयो। त्यसपछि जब उहाँ भारत आउनुभयो उहाको पछाडी संसारको सबैभन्दा शक्तिशाली राष्ट्र र विश्वको सबैभन्दा संगठित धर्म लाग्यो उहाको देशना र उहाको भौतिक शरिर नष्ट गर्नको लागी। भारतमा फर्कीएपछि पनि उहाँ माथी पड्यन्त्र जारी रहयो र उहाँलाई षडयन्त्रमुलक ढंगले हत्या गरियो।

ओशोका स्वयं भाई स्वामी शैलेन्द्र सरस्वतीले ओशोलाई आफ्नो मृत्युको आभास १० महिना अघि नै भएको थियो र त्यसको संकेत आफुले पनि पाएको खुलासा गरेका छन।उनले अहिले ओशोको मृत्यु प्राकृतिक हो भन्दै हिडन थालेका छन।

ओशोको मृत्युको रहस्य दिन प्रतिदिन जटिल बन्दै गइरहेको छ।ओशोले शरिर छोडेपछि उहाँको शरिरलाई ओशो इन्टरनेशनल कम्युन पुणेको बुद्धहलमा मात्र १० मिनेट राखेर उत्सव गरि तुरुन्तै बर्निङ घाटमा जलाइयो। ती महान गुरुको शरिरलाई १० मिनेट मात्र बुद्धहलमा राखी तुरुन्तै जलाइनुले पनि उहाको मृत्युलाई थप रहस्यमय बनाई दिएको छ।ती महान बुद्धपुरुषको रहस्यमय मृत्यु भएको १९ जनवरीको पावन दिनमा ती महान गुरु प्रति हार्दिक नमन !

जय ओशो ! जय भगवान !

(लेखक स्वामी ध्यान आशिष ओशो शिष्य हुन्)

Logo