युरोपमा इतिहास बदलियोः पहिलोपटक पेट्रोलियमभन्दा विद्युतीय कारको बिक्री बढी

युरोपमा इतिहास बदलियोः पहिलोपटक पेट्रोलियमभन्दा विद्युतीय कारको बिक्री बढी

केन्द्रबिन्दु
33
Shares

काठमाडौं। सन् २०२५ को डिसेम्बरमा युरोपेली संघमा एउटा ऐतिहासिक मोड देखिएको छ, जहाँ पहिलोपटक पेट्रोलियम पदार्थबाट चल्ने कारभन्दा विद्युतीय कारको बिक्री बढी भएको छ ।

युरोपेली संघले पेट्रोल–डिजेल सवारीमाथि प्रस्तावित २०३५ को प्रतिबन्ध खुकुलो बनाउने संकेत दिइरहेका बेला बजारले भने ठीक उल्टो दिशामा कदम चालेको देखिएको छ। युरोपेली अटोमोबाइल उद्योग सङ्घ (एसीईए) का अनुसार डिसेम्बर महिनामा ब्याट्री इलेक्ट्रिक भेइकल, प्लग–इन हाइब्रिड र हाइब्रिड सवारी साधनको दर्ता तीव्र रूपमा बढ्दै कुल कार दर्ताको ६७ प्रतिशत हिस्सा ओगट्न पुगेको छ, जुन अघिल्लो वर्षको यही महिनामा ५७.८ प्रतिशत मात्र थियो।

यसले विद्युतीय रूपान्तरण अब नीतिगत बहसभन्दा अघि बढेर उपभोक्ताको रोजाइमा स्पष्ट रूपमा स्थापित भइसकेको संकेत गरेको छ।

युरोपभर कार बिक्री लगातार छैटौँ महिनासम्म बढ्दै डिसेम्बरमा ७.६ प्रतिशतले वृद्धि भई १२ लाख पुगेको छ भने सन् २०२५ भरि कुल बिक्री २.४ प्रतिशत बढेर १ करोड ३३ लाख पुगेको छ, जुन पाँच वर्षयताकै उच्च स्तर हो, यद्यपि कोरोना महामारीअघिको स्तरमा अझै पुग्न सकेको छैन। यही परिवर्तनसँगै अटो उद्योगभित्र शक्ति सन्तुलन पनि तीव्र रूपमा बदलिएको देखिन्छ।

अमेरिकी ईभी निर्माता टेस्लाको दर्ता डिसेम्बरमा २०.२ प्रतिशतले घट्दा चीनको बीवाईडीको दर्ता भने २२९.७ प्रतिशतले उछाल मार्नुले युरोपेली बजारमा चिनियाँ कम्पनीहरूको आक्रामक प्रवेशलाई उजागर गरेको छ। युरोपकै ठूला अटो समूह फक्सवागनको दर्ता १०.२ प्रतिशत र स्टेलान्टिसको ४.५ प्रतिशतले बढेको छ भने रेनोको दर्ता २.२ प्रतिशतले घटेको छ।

युरोपेली संघले संघर्षरत अटो उत्पादकहरूको दबाबपछि इन्टरनल कम्बसन इन्जिनमाथि प्रस्तावित प्रतिबन्ध प्रभावकारी रूपमा परित्याग गर्ने योजना सार्वजनिक गरे पनि बजारका पछिल्ला तथ्यांकले विद्युतीय भविष्य अपरिहार्य भइसकेको स्पष्ट सन्देश दिएका छन्। चिनियाँ प्रतिस्पर्धा, अमेरिकी आयात शुल्क र कडा घरेलु नियमहरूको चापबीच युरोपेली अटो उद्योग नाफा जोगाउन संघर्ष गरिरहेको अवस्थामा उपभोक्ताको छनोटले नै अब रूपान्तरणको गति तय गरिरहेको देखिन्छ ।

विश्लेषकहरूका अनुसार युरोप अब ‘नीतिले चलाएको विद्युतीय यात्रा’बाट बाहिर निस्केर ‘बजारले धकेलेको विद्युतीय युग’मा प्रवेश गरिसकेको छ, जहाँ प्रश्न पेट्रोलियम सवारी कहिले बन्द गर्ने भन्ने होइन, विद्युतीय युगलाई कसरी व्यवस्थित र दिगो बनाउने भन्ने बनेको छ।

Logo