उभौली पर्वः पूर्खाको सम्मान, प्रकृतिको पूजा र जीवन बाँच्ने नियम

उभौली पर्वः पूर्खाको सम्मान, प्रकृतिको पूजा र जीवन बाँच्ने नियम


काठमाडौं । आज बुद्ध जयन्ती अर्थात बैशाख पुर्णिमा । यही पुर्णिमाकै दिनदेखि किराँत जातीको उभौली पर्व सुरुवात हुन्छ । उभौली पर्व, प्रकृतिपूजक वा अर्को शब्दमा धर्तीपूजक किराँत समुदाय भित्रका विभिन्न जातिहरुले मनाउने प्रसिद्ध पर्व हो ।

किराँत समुदाय भित्रका राईहरुले उभौली पर्वलाई साकेला, साकेन्वा, तोसी, तोष वा तोसु भनेर मनाउने गरेका छन् । लिम्बूहरूले चासोक वा यक्‌वा तङनाम, सुनुवारहरुले फोलष्यादर, याक्खाहरूले युच्याङ र थामी जातिले भुम्या भनेर मनाउने गरेका छन् । आजको दिनलाई किराँत समुदायले ऋतु परिवर्तनको संकेतको रुपमा समेत मन्ने गरेका छन् ।

किराँत भाषा संस्कृतिका खोजकर्ता एवं धनकुटा बहुमुखी क्याम्पसका उपप्राध्यपक ईच्छापुर्ण राईका अनुसार किराँत समुदायले यस दिनलाई ‘सुम्निमा’ अर्थात् देवी पार्वतीको सृष्टि भएको दिनको रूपमा पनि मान्ने गर्दछन् । यो पर्व सांस्कृतिक दृष्टिले समेत अत्यन्तै महत्वपूर्ण रहेको छ ।

उभौली पर्वको अवसरमा किराँती परम्पराअनुसार भूमि पूजा गर्ने पुरानो चलन रहेको छ । यो पर्व प्रकृति र मौसमसँग सम्बन्ध राख्ने पर्वको रुपमा बुझ्न सकिन्छ । किरात समुदायमा १२ महिनालाई दुईभागमा विभाजन गरिएको छ । बैशाख पुर्णिमा देखि मंसिर पुर्णिमासम्म पहिलो र मंसिर पुर्णिमा देखि बैशाख पुर्णिमा सम्म दोस्रो । एक वर्षमा बाह्र महिना हुन्छ छ महिना गर्मी छ महिना चिसो यहि प्राकृतिक मौसमको नियमलाई हाम्रा पू्र्खाहरुले दुई ऋतु बनाएर विकास गरे जुन उभौली र उधौली पर्व हो ।

उभौली पर्व सुरु हुँदा लेकमा ढकमक्क लालिगुरास फुल्छ, भेडीगोठ हिमाली भेगतिर सारिन्छ, नदीका माछाका भुराहरु लहरै उभो सर्छन, आकाशमा कर्याङकुरुङ चराहरु गर्मी छल्न लेकतिर बसाइ सर्छन ।

यो पर्वमा हेन्खामा (धर्ती)लाई खन्छौ, जोत्छौ र खेतीपाती लगाउँछौँ, बालीनाली राम्रो उत्पादन होस, रोग नलगोस, प्राकृतिक प्राकोपले क्षति नगरिदियोस भनि कामना गर्दै प्रकृति र पित्री पूजा गर्ने चलन रहेको छ ।

त्यस्तै उधौली पर्वमा भेडीगोठहरु बेंसीतिर झर्छन, नदीका भुरा माछाहरु ओरालो झर्छन, कर्याङकुरुङ चराहरु जाडो छल्न बेंसीतिर फर्किन्छन । उधौली अर्थात जाडो महिनामा धर्तीलाई खनजोत गरी बालिनाली लगायौं र उठायौं । रोग र प्राकृतिक प्रकोपबाट जोगियो । त्यसैले धर्ती(हेन्खामा) लाई पहिले चढाउदै धन्यवादज्ञापन गर्दै प्रकृति र पित्रीको पूजा गर्ने परम्परा किराँती समुदायमा रहेको छ ।

नेपालका किराँती समुदायले मनाउने उभौली र उधौली पर्व कृषि, पशुपालन र उनीहरूको जीवन पद्धतिसँग सम्बन्ध राख्ने गरेको छ । यस पर्वमा खोलानाला, हावा, पानी, रुखदेखि किरा–फट्याङ्ग्रा, पशुपन्छी सबै एक अर्काका परिपूरक हुन् भन्ने कुरा किराँती पूर्खाले पछिल्लो पुस्तालाई ज्ञान हस्तान्तरण गर्दै जीवन बाच्ने र बिताउने विसुद्ध नियम सिकाएर गएका छन् । यस समुदायले प्रकृतिमा रहेका भूमी, जल, अग्नी, आकाश, वायु, चन्द्र, सूर्य, पशुपंक्षी र वनस्पतिको पूजा गर्ने गर्दछन् । हरेक प्राणीले प्रकृतिबाट विच्छेद भएर बाच्ने होइन, एकाकार भएर बाँच्नुपर्छ भन्ने सन्देस समेत दिएको छ । यो पर्व पूर्खा र प्रकृतिलाई सम्मान र खुसी बनाउने पर्व हो ।

किराँत जातिहरु नेपालको पूर्वी भाग खोटाङ, ओखलढंगा, रामेछाप, दोलखा, सोलुखुम्बु, भोजपुर, उदयपुर, संखवासभा, धनकुटा, सुनसरी, मोरङ, इलाम, पाँचथर ताप्लेजुङ लगायतका जिल्लामा वसोबास रहेको छ । यस्तै राजधानीको काठमाडौं ललितपुर, भक्तपुरमा बसोबास रहेको छ ।

त्यस्तै बेलायत, हङकङ, सिङ्गापुर, अमेरिका, भारत लगायत विभिन्न देशहरुमा समेत उल्लेख्य मात्रामा किराँती समुदायको बसोबास रहेको छ । उभौली पर्वमा साकेला थान, भूमेथानमा भेला भई पूजा गरेर भव्यताका साथ मनाउने चलन रहेको छ ।

त्यस्तै किराँत समुदायको घरमा लिपपोत गरेर शुद्ध बनाउने र पुर्खाले मानिआएको तीन चुल्होमा विधिपूर्वक पूजा गर्ने परम्परा रहेको छ । यस पूजाको लागि कुखुरा, सुँगुर, जाँड, रक्सी, अदुवा, केराको पात, धूप, अक्षता, फूलपाती, सेउली, ढोल, झ्याम्टा, धनुकाँड लगायत विभिन्न सामग्रीको प्रयोग गरिन्छ ।

पूजा सम्पन्न गरेपछि परम्परागत बाजा, ढोल, झ्याम्टा, भैँसीको सिङ बजाएर नाच्ने चलन रहेको छ । ढोल, झ्याम्टा तालमा नाचिने चण्डी(साकेला)नाचमा विभिन्न जीव, जनावर, चराचुरुङ्गीको नक्कल गर्ने लगायत खोरिया फाँडेको, अन्नबाली लगाएको, गोडमेल गरेको, अन्नबाली उठाएर घरमा भित्र्याएको हाउभाउ प्रदर्शन गरिन्छ ।

Logo