ब्यक्तिचित्र

लक्ष्मीधर गुरागाई
सुन्दर दुलारीनगरका अविस्मरणीय शिक्षासेवी ।
राधाकृष्ण सर मिर्चैयातिर बाट २०१८ सालतिर मुर्गाटोली अर्थात आजको सुन्दरपुर (त्यसवेला पनि यो दुलारी पञ्चायत थियो ।) आएर धुले स्कुल खोलेर पढाउन थाल्नुभयो । पछि उहाँले दीपक अपरप्राइमरी स्कुल खोलेर उहाँ प्रधानाध्यापक हुनुभयो ।
आफु प्रधानाध्यापक भएपछि राधाकृष्ण सर गाउँगाउँ गएर केटाकेटी भेला पारेर विद्यालयमा ल्याएर भर्ना गराउनुहुन्थ्यो । मिहिनेत गरेर पढाउनुहुन्थ्यो । राधाकष्ण सर यस क्षेत्रको ज्योति हुनुहुन्थ्यो । आफ्ना विद्यार्थीलाई छोराछोरीजस्तै मान्ने उहाँको बानी थियो । विद्यार्थीलाई आफ्ना सुखदुखका कुरा पनि सुनाउनुहुन्थ्यो । विद्यार्थीका सुखदुखका कुरा पनि उहाँ ध्यान दिएर सुन्नुहुन्थ्यो । कुनै समस्या भए उहाँ समाधान गरिदिन लागिपर्नु हुन्थ्यो ।
२०२१ सालमा राजा महेन्द्रले भूमिसुधार लागु गरे । त्यसबेला दुलारीका भूमिपति थिए सुवेदार ननिलाल चौधरी । राधाकृष्ण सर उनै ननिलालका निवासमा बसेर बिहानबेलुका उनका नातिहरु देवनारायण, सत्यनारायण , बुधनारायण , जयनारायणहरुलाई ट्युसन पढाउनुहुन्थ्यो । सुवेदार ननिलालले आफ्ना नाममा रहेको जग्गा छोरा कृष्णकुमारका नाममा २५ विगाह, अर्का छोरा रघुका नाममा २५ विगाह, भाइ खडानन्दका नाममा २५ विगाह , नाति देवनारायण , सत्यनारायण, बुधनारायण , जयनारायणहरुका नाममा २५ , २५ बिगाह जग्गा दर्ता गराउँदा पनि उनको २१ बिगाह जग्गा बाँकी भएछ । सुबेदार ननिलालले राधाकृष्ण सरसित सोधे रे ओ मास्टरजी , यो २१ बिगाह जग्गा कसको नाममा राखौं ? त्यसैबेला राधाकृष्ण सरले अनुरोध गर्नुभयो रे सुवेदार साहेव , त्यो २१ बिगाह जग्गा दिएर तपाईका बुबा साजीलालका नाममा हाइस्कुल खोलिदिनुहोस् न । त्यसले गर्दा यस क्षेत्रका मानिसहरुले छोराछोरीलाई पढाउन पाउने छन् , तपाईका बुवाको नाम अजरअमर हुनेछ , तपार्ईको कीर्ति रहने छ । राधाकृष्णसरका कुराले सुबेदार ननिलालका घैंटामा घाम लागेछन् । उनले त्यसैबेला राधाकृष्ण सरलाई भनेछन ल हुन्छ , लेख कागज बुबाका नाममा स्कुल खोल्न म २१ बिगाह जग्गा दिन्छु । राधाकृष्ण सरले त्यसैबेला कागज लेखाएर सुबेदार ननिलाललाई सहीछाप गराउनु भएछ । त्यसबेलाको साजिलाल हाइस्कुल अर्थात् आजको साजिलाल उच्च मावि स्थापनामा राधाकृष्ण सरको कुन हदको योगदान हो भन्ने यस प्रसंगबाट स्पष्ट हुन्छ ।
त्यसैले उहाँ सुन्दरपुर र दुलारी क्षेत्रका शिक्षाका कहिले ननिभ्ने ज्योति हुनुहुन्छ । प्रकाशपुञ्ज हुनुहुन्छ । उहाँको भगीरथ प्रयत्नले स्थापित विद्यालयमा पढेर आजसम्म लाखौंलाख व्यक्तिले अध्ययन गरेर आफ्नो जीवन उजिल्याउन पाएका छन् त्यसको श्रेय सुवेदार ननिलाल र राधाकृष्ण सर दुवैलाई जान्छ ।
राधाकृष्ण सर आज हुनुहुन्न । तर उहाँले सुन्दर दुलारीमा दिनुभएको योगदान सधैंसधैंका लागि अविष्मरणीय रहिरहने छ ।

राधाकृष्ण सर
( लेखक गोरखापत्रका पूर्व प्रबन्ध सम्पादक हुनुहुन्छ ।)





























प्रतिक्रिया