काठमाडौं । चिनियाँ विद्युतीय सवारी निर्माता लिपमोटरले विश्व ईभी बजारमा ठूला खेलाडीलाई सीधै चुनौती दिने रणनीति सार्वजनिक गरेको छ। कम्पनीले आगामी एक दशकभित्र वार्षिक ४० लाखभन्दा बढी गाडी बिक्री गर्ने महत्वाकांक्षी लक्ष्य अघि सार्दै आक्रामक विस्तारको संकेत दिएको हो। चीनको हाङझोउमा आयोजित कार्यक्रममा लिपमोटरका सीईओ तथा सह–संस्थापक झु जियाङमिङले सन् २०२६ सम्म १० लाख गाडी बिक्री गर्ने अल्पकालीन लक्ष्यसमेत घोषणा गरे। उनका अनुसार यो लक्ष्य हासिल गर्न युरोपेली अटो जायन्ट स्टेलान्टिससँगको सहकार्य लिपमोटरको विश्वव्यापी विस्तारको मेरुदण्ड बन्नेछ।
लागत नियन्त्रण नै लिपमोटरको बलियो पक्ष
लिपमोटरको तीव्र वृद्धिको मुख्य आधार आफ्नै प्रविधि विकास र लागत नियन्त्रण रहेको कम्पनीको दाबी छ। गाडीमा प्रयोग हुने करिब ६५ प्रतिशत पाट्र्स कम्पनीले आफैं विकास गर्ने भएकाले प्रतिस्पर्धी ब्रान्डको तुलनामा झन्डै १० प्रतिशत लागत लाभ लिन सफल भएको सीईओ झुको भनाइ छ। यसको प्रत्यक्ष असर मूल्यमा देखिएको छ। हाल लिपमोटरको सबैभन्दा लोकप्रिय मोडल सी१० इलेक्ट्रिक एसयूभीको सुरुआती मूल्य १ लाख ४२ हजार ८ सय युआन छ। यही मूल्य रणनीतिका कारण २५ हजार डलरभन्दा सस्तो ईभी सेग्मेन्टमा बीवाईडीको बजार हिस्सा खुम्चिन थालेको छ।
चीनमा लिपमोटर उकालो, बीवाईडी दबाबमा
चीनको अत्यन्त प्रतिस्पर्धी अटो बजारमा लिपमोटरले पछिल्लो समय उल्लेखनीय प्रगति गरेको छ। सन् २०२५ का पहिलो ११ महिनामा कम्पनीको घरेलु बिक्री झन्डै दोब्बर हुँदै ४ लाख ८२ हजार युनिट नाघेको छ। यसको ठीक विपरीत, ईभी बजारको दिग्गज मानिने बीवाईडीको घरेलु बिक्री सोही अवधिमा ५.१ प्रतिशतले घटेको तथ्यांकले देखाउँछ। यसले चीनको ईभी बजारमा शक्ति सन्तुलन बिस्तारै बदलिँदै गएको संकेत गरेको छ।
युरोपेली बजारतर्फ तीव्र तयारी
अन्तर्राष्ट्रिय विस्तारलाई थप गति दिन लिपमोटरले सन् २०२६ बाट स्पेनमा उत्पादन सुरु गर्ने घोषणा गरेको छ। युरोपेली नियमअनुसार ४० प्रतिशत पाट्र्स स्थानीय रूपमा खरिद गर्ने योजना कम्पनीले अघि सारेको छ। यसैबीच, चिनियाँ सरकारी स्वामित्वको अटो निर्माता एफएडब्लुसँग प्राविधिक साझेदारी गर्दै नयाँ मोडल विकास र उत्पादनको तयारीसमेत भइरहेको छ। कम्पनीका अनुसार यस सहकार्यले लिपमोटरको दीर्घकालीन प्रतिस्पर्धात्मक क्षमता थप बलियो बनाउनेछ।
नेपाली बजारमा पनि प्रभाव बढ्ने संकेत
नेपालमा पनि लिपमोटरका सी१०, बी१० र टी०३ मोडल उपलब्ध भइसकेका छन्। सांग्रिला मोटर्स नेपालका लागि लिपमोटरको आधिकारिक वितरक हो। अन्तर्राष्ट्रिय विस्तार, प्रतिस्पर्धी मूल्य र आक्रामक बिक्री लक्ष्यका कारण नेपाली ईभी बजारमा पनि लिपमोटरको उपस्थिति र प्रभाव क्रमशः बढ्दै जाने संकेत देखिएको छ।





























प्रतिक्रिया