काठमाडौँ । चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी कामाले आफ्नो वार्षिक अन्तर्राष्ट्रिय वितरण सम्मेलनका अवसरमा नेपालका लागि आधिकारिक वितरक मेगा मोटर्सलाई ‘इन्टरनेसनल आउटस्ट्यान्डिङ डिस्ट्रिब्युटर अवार्ड’ प्रदान गरेको छ । यो अवार्ड चीनबाहेक विश्वका ३० भन्दा बढी देशका वितरकहरूमध्ये उत्कृष्ट प्रदर्शनका आधारमा प्रदान गरिएको हो। चीनको सानडोङ प्रान्तमा आयोजित कामा अटोमोबाइल पार्टनर कन्फ्रेन्समा कामा इंकका इन्टरनेसनल सेल्स हेड लि काई र इन्टरनेसनल सेल्स डाइरेक्टर केल्भिनले मेगा मोटर्सका म्यानेजिङ डाइरेक्टर महेश पाललाई अवार्ड हस्तान्तरण गरे।
नेपाललाई महत्त्वपूर्ण बजारको मान्यता
कार्यक्रममा कामा कम्पनीले नेपाललाई आफ्नो विश्वव्यापी नेटवर्कभित्र एक उदीयमान र रणनीतिक बजारका रूपमा हेरिएको उल्लेख गरेको छ। मेगा मोटर्सले नेपालमा कामा इलेक्ट्रिक पिकअप र भ्यानको बजार सफलतापूर्वक स्थापित गर्न खेलेको भूमिकाको उच्च मूल्यांकन गर्दै निर्माता कम्पनीले प्रशंसा व्यक्त गरेको जनाइएको छ।
कम्पनीका अनुसार पछिल्लो एक वर्षको अवधिमा मेगा मोटर्सले नेपालमा ३०० भन्दा बढी इलेक्ट्रिक सवारी साधन बिक्री गर्न सफल भएको छ। यससँगै बिक्रीपछिको सेवा, स्पेयर पाट्र्स आपूर्ति र सहायक पूर्वाधार निर्माणमा समेत उल्लेखनीय प्रगति गरेको कामाको भनाइ छ।
उत्कृष्ट प्रदर्शनको अन्तर्राष्ट्रिय मान्यता
कामा कम्पनीले विश्वभरका आफ्ना वितरकहरूबीच बजार विकास, बिक्री प्रदर्शन र ग्राहक सेवाको आधारमा यो अवार्ड प्रदान गर्दै आएको छ। मेगा मोटर्सले यी सबै सूचकमा उत्कृष्ट नतिजा हासिल गरेकाले उक्त सम्मान प्राप्त भएको बताइएको छ।
हरित यातायाततर्फ योगदान
यस उपलब्धिले नेपालमा इलेक्ट्रिक सवारी साधनको बजारलाई थप बलियो बनाउने र देशको हरित यातायात अभियानमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ। मेगा मोटर्सले व्यावसायिक इलेक्ट्रिक सवारी साधनमार्फत इन्धन आयात घटाउने र वातावरणमैत्री यातायात प्रवद्र्धनमा भूमिका खेल्दै आएको जनाएको छ। मेगा मोटर्स नेपालका प्रमुख इलेक्ट्रिक सवारी साधन वितरकमध्ये एक हो, जसले कामाका इलेक्ट्रिक पिकअप, भ्यान तथा अन्य व्यावसायिक सवारी साधनको बिक्री र बिक्रीपछिको सेवा प्रदान गर्दै आएको छ । कामा एक अग्रणी चिनियाँ इलेक्ट्रिक सवारी साधन निर्माता कम्पनी हो, जसले विशेषगरी व्यावसायिक तथा युटिलिटी सवारी साधनमा केन्द्रित हुँदै एसिया, अफ्रिका, ल्याटिन अमेरिका र दक्षिण एसियाली बजारहरूमा आफ्नो उपस्थिति विस्तार गरिरहेको छ।





























प्रतिक्रिया