ज्योति मगरलाई मेरो अन्तिम प्रश्न

ज्योति मगरलाई मेरो अन्तिम प्रश्न

केन्द्रबिन्दु
0
Shares

ज्योति मगर ज्यु ।
चर्चित कलाकार, हाल – काठमाण्डौं ।

तपाईंलाई लाग्दो हो, अपरिचित मान्छेले किन पत्र लेख्यो भनेर । त्यसोत म तपाईंलाई सिधै भेटेर आफ्ना कुरा पनि राख्न सक्थेँ । तर तपाईंप्रतिको मेरा जिज्ञासाहरु आम रुपमा सार्वजनिक होस् भनेर खुला पत्र लेख्दैछु । पढ्ने मौका मिल्यो भने मनन् गर्नुहोला ।

तपाईं प्रतिभावान कलाकार हो भन्ने कुरामा कसैको दुईमत नहोला । गायन, नृत्य, संगीत, गीतलेखन आदिमा तपाईं संलग्न हुँदै आउनु भएको छ । र, सस्तो चर्चाको हिसावमा सफल पनि हुँदै आउनु भएको छ । कतिपय गीत सुपरहिट समेत भएका छन् । तर तपाईंको उत्ताउलो प्रस्तुतिलाई लिएर भने सहमत हुन सकिदैन । मेरो जिज्ञासा यही कोणमा सीमित छ ।

‘मेरा स्तनहरुले मलाई सेक्सी देखाएका हुन् ।, पहिलो सेक्स्को अनुभव १६–१७ बर्षको उमेरमा गरेँ तर कोसँग भन्ने कुरा चाहिं भन्दिन ।, मन मिल्यो भने जोसँग पनि सेक्स् गर्छु’ लगायतका कुरा गरेर तपाईंले अनुशासित नेपाली समाज माथि धावा बोलिरहनु भएको छ । हाम्रा नानीहरुले तपाईंको कुरा सुनेर के सिक्लान् ? चर्चित कलाकारको यस्तो उत्ताउलो कुराले समाजलाई कता लैजान मद्धत गर्ला, तपाईंको जवाफ सुन्न मन छ ।

पोहोर साल तपाईंले लन्डन गएर प्रस्तुति दिनु भयो । मित्र नृपेश उप्रेतीले राखेको भिडियो हेरेर थाहा भयो । त्यसपछिका तपाईका प्रस्तुति नियाल्न थालेको छु । यिनै प्रस्तुतिहरु हेरेपछि मन भारी भएकाले नलेखि चित्तै बुझेन । मेरो पहिलो प्रश्न छ, गीत गाउन यति धेरै किन उत्ताउलिनु पर्छ ? अति छोटो स्कट लगाएर किन उफ्रिनु पर्छ ? अश्लिल दोहारो अर्थ लगाउने शब्द र भाव भंगी किन प्रदर्शन गर्नु पर्छ ? तारादेवी, अरुणा लामा लगायत गायिकाहरुले अमर हुन उत्ताउलिनु परेन । उहाँहरु महान भएको कारण प्रतिभा, लगनशीलता, निरन्तरा, सालिनता, अनुशासन र मेहनतले हो भन्ने इतिहास पढ्न म यहाँलाई विनम्र अनुरोध गर्दछु ।

‘अहिले यही बिक्छ ।’ भन्ने तपाईंको तर्क पनि मैले सुन्ने र पढ्ने मौका पाएको छु । ज्योति जी, बिक्रि हुनु मात्रै चाहिं ठूलो कुरा होइन । मैले सुनेको छु, कान्तिपुर टिभीका भन्दा ‘पोर्न’ फिल्मका दर्शक हजारौं गुना बढी छन् । नयन राज पाण्डेको पछिल्लो प्रकाशित उपन्यास ‘सल्लीपीर’ भन्दा कोकशास्त्रका पुस्तक कयौं गुना बढी बिक्रि हुन्छन् भन्दैमा के अव उपन्यासकार पाण्डे यौन साहित्यको ब्यापारमा लाग्ने हो ? मेरो भन्नुको मतलव गायक–गायिकाहरुले नाम, दाम, इज्जत, प्रतिष्ठा आदिको हेक्का राख्न जरुरी छ । उनीहरु समाजका मोडल हुन् । समाज उनीहरुकै अघोषित निर्देशन मानेर काँचुली फेर्छ । के तपाईंलाई यस्तो दायित्व बोध हुँदैन ?

मेरो अन्तिम प्रश्न, तपाईंलाई लोक दोहोरी संघले कार्वाही गरेर किन साधारण सदस्य समेत राख्न मानेन ? मुलुकमा हुने ठूला, भद्र र कर्पोरेट कार्यक्रमहरुमा किन तपाईंलाई प्रतिभा प्रदर्शन गर्ने मौका दिइन्न ? तपाईंले यी प्रश्नहरुको जवाफ खोज्न सक्नु पर्छ ।

समय मिलेछ भने ब्यवहारले जवाफ दिंदै जानु होला…अहिलेलाई यत्तिनै ।

दिपेश जङ खत्री
नैकाप, काठमाण्डौं ।
२०७४ जेठ २१

Logo