कांग्रेस सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्रीकाे भेट, के भयाे कुराकानी ?

कांग्रेस सभापति देउवासँग अमेरिकी सहायक विदेशमन्त्रीकाे भेट, के भयाे कुराकानी ?


संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । 

एक दिने भ्रमणका लागि शुक्रबार नेपाल आइपुगेका अमेरिकी सहायक विदेश मन्त्री लुले सुरुमा सभापति देउवालाई भेटेका हुन् । भेटमा नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भएको सभापति देउवाले जानकारी दिएका छन् ।  

‘अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूसँग फलदायी भेटघाट गर्न पाउँदा खुसी लागेको छ,’ भेटपछि उनले ट्वीट गरेका छन्, ‘नेपाल-अमेरिका सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा रचनात्मक छलफल भयो, नेपालको विकास र शान्ति, लोकतन्त्रको प्रवर्द्धनमा अमेरिकी सरकार र लूको अटल सहयोगका लागि कृतज्ञ छु ।’

अमेरिकी सहायक विदेश मन्त्री लुले आजै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्रमन्त्री एनपी साउदसँग छुट्टाछुट्टै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम पनि छ । भ्रमणका क्रममा उनले दूतावासका कर्मचारीहरूलाई पनि भेट गर्ने अमेरिकी दूतावासले जनाएको छ ।

साथै उनले अमेरिकन चेम्बर अफ कमर्सको एक सदस्य संस्थासँग भेटघाट गर्नेछन् ।  साथै उनले नेपालीलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने दिशामा अनुपम सीप प्रदान गर्न उहाँहरूले गरेका प्रयासका बारेमा पनि बुझ्नेछन् । उनले गत वर्ष पनि नेपालको भ्रमण गरेका थिए । 

Logo