बलिङ र ब्याटिङ नचल्दा नेपाल पाकिस्तानसँग पराजित

बलिङ र ब्याटिङ नचल्दा नेपाल पाकिस्तानसँग पराजित


बलिङ र ब्याटिङ नचल्दा नेपालले एसिसी इमर्जिङ टिम्स एसिया कपमा हारबाट सुरुवात गरेको छ । शुक्रबार कोलोम्बो क्रिकेट क्लब ग्राउन्डमा भएको पहिलो खेलमा नेपाल उपाधि दाबेदार पाकिस्तान एसँग ४ विकेटले पराजित भएको हो ।  

नेपालले जितका लागि दिएको १८० रनको लक्ष्य पछ्याएको पाकिस्तानले ३२.५ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्न सफल भयो । पाकिस्तानको जितमा तायव ताहिरले सर्वाधिक अर्धशतकीय इनिङ खेले । उनले ६७ बलमा ५१ रन जोडे । त्यस्तै, ओमार औसुफले ३६ रन बनाउँदा ओपनर सैम अयुवलाई २४ रनमा आउट भए । काम्रान घुलमले ३१ रन जाेडे । 

बलिङतर्फ नेपालका ललित राजवंशीले ३ विकेट लिए भने पवन सर्राफले २ विकेट तथा कुशल मल्लले एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपाल ३७ ओभरमा १७९ रन बनाउँदै अलआउट भयो । पाकिस्तानका तीव्र गतिका बलरसामु नेपालका खेलाडी क्रिजमा टिकिरहन सकेनन् । 

नेपालका लागि बलर सोमपाल कामीले नवौं नंबरमा ब्याटिङमा उत्रिएका सोमपाल कामीले सर्वाधिक अर्धशतकीय इनिङ खेले । उनले १०१ बलमा ९ चौका र २ छक्काको मदतमा ७५ रन जोडे । उनको यो इनिङले नेपाललाई ठूलो राहत मिल्यो । १३० रनमै ९ विकेट गुमाएको नेपालका लागि ललित राजवंशीसँग सोमपालले राम्रो साझेदारी गरे । 

त्यस्तै, प्रतिश जिसीले २४ बलमा २ छक्काको मदतमा २६ रन जोडे । 

पहिलो ओभरमै ३ चौकासहित १२ रन जोडेर सानदार सुरुवात गरेको नेपालले पछि लगातार विकेट गुमाउन पुगेको थियो । नेपालका शिर्षक्रमका कुनै पनि ब्याटरले जिम्मेवारी ढंगले ब्याटिङ गर्न सकेनन् । 

दोस्रो ओभरको पाँचौं बलमा ओपनर कुशल भुर्तेल एक रनमा बोल्ड आउट हुँदा चौथो ओभरको अन्तिम बाउन्सर बलमा आशिफ शेख १२ रनमा क्याच आउट हुन पुगे । साथै पाँचौं ओभरको पाँचौं बलमा कप्तान रोहित पौडेल ४३ रनमा आउट भए भने अर्जुन साउद १७ रन तथा भीम सार्की शून्यमा बोल्ड आउट भए । 

कुशल मल्लले १७ रन बनाउँदा गुल्सान झाले १३ रन जोडे । लामोसमय पछि आज मौका पाएका पवन सर्वाफ पनि एक रनमै पवेलियन फर्किए । गत वर्ष खराब प्रदर्शनकै कारण टोलीबाट बाहिरिएका पवनले पुनः अर्को मौकाको फाइदा उठाउन सकेनन् ।

बलिङमा पाकिस्तानका युवा तीव्र गतिका बलर शाहबाज दाहानीले एक्लैले ५ विकेट लिए । साथै मोहम्मद वासिम जुनियरले ४ विकेट लिए । दाहानी र जुनियर दुबै पाकिस्तानको नियमित टोलीबाट खेल्दै आएका छन् । तर, शाहिन शाह अफ्रिदी, हरिस रौफ र नसिम शाह हुँदा उनीहरुले कम मौका पाउने गर्दछन् । 

त्यस्तै, मुवासिर खानले एक विकेट लिए । 

नेपालले दोस्रो खेल भारतसँग सोमबार र युएई ए सँग बुधबार खेल्नेछ । 

Logo