काठमाडौं । अटोमोबाइल उद्योगका लागि वर्ष २०२५ अत्यन्तै महत्वपूर्ण र परिवर्तनकारी सावित भएको छ । प्रविधिमा भएको विकास, नयाँ डिजाइन, सुरक्षामा विशेष जोड र इलेक्ट्रिक सवारी साधन (ईभी) तर्फको बढ्दो आकर्षणले गर्दा यो वर्ष इतिहासमा सम्झनलायक बनेको छ ।
विशेषगरी छिमेकी राष्ट्र भारत र नेपालको बजारमा केही भिन्न तर रोचक प्रवृत्तिहरू देखिएका छन् ।
भारतमा वर्ष २०२५ सम्ममा करिब ४५ लाख सवारी साधन बिक्री भएको अनुमान छ, जसमा पेट्रोल, डिजेल, हाइब्रिड र इलेक्ट्रिक सबै समावेश छन् । कुल बिक्रीको करिब ५० प्रतिशत हिस्सा एसयूभी सेगमेन्टले ओगटेको छ । उच्च ग्राउन्ड क्लियरेन्स र बहुउपयोगी स्वरूपका कारण ग्राहकहरू यसतर्फ आकर्षित भएका छन् ।
२०२५ मा ७५ भन्दा बढी नयाँ सवारी साधन र फेसलिफ्ट मोडलहरू बजारमा आएका छन् । कुल कार बिक्रीमा इलेक्ट्रिक सवारीको हिस्सा ८ देखि १० प्रतिशत पुगेको छ । टाटा नेक्सन ईभी, एमजी विन्डसर ईभी र हुन्डाई क्रेटा ईभी जस्ता मोडलहरूले बजार विस्तारमा ठूलो भूमिका खेलेका छन् ।
‘ईभी रिभोलुसन’मा नेपाल पनि निकै अघि रहेकाे छ । नेपालमा पेट्रोलियम गाडीको तुलनामा इलेक्ट्रिक गाडीको बिक्रीले नयाँ रेकर्ड कायम गरेको छ ।
भन्सार विभागको तथ्याङ्क अनुसार नेपालमा आयात हुने चार पाङ्ग्रे प्यासेन्जर गाडीमध्ये करिब ७० देखि ७५ प्रतिशत हिस्सा इलेक्ट्रिक सवारी साधनले ओगटेका छन् । नेपाल नयाँ कार बिक्रीमा ईभीको हिस्साका आधारमा विश्वमै नर्वेपछि दोस्रो स्थानमा पुग्न सफल भएको छ ।
२०२५ मा नेपालमा बीवाईडी (डल्फिन र एट्टो ३), एमजी (एस५ र विन्डसर) र टाटा (पन्च ईभी र टिगोर ईभी) जस्ता मोडलहरूले बजारमा प्रभुत्व जमाएका छन् । सस्तो मूल्यका ह्याचब्याकदेखि प्रिमियम एसयूभीसम्म ईभीमै उपलब्ध हुनुले पेट्रोलियम गाडीको माग घटाएको छ ।
समग्रमा २०२५ अटोमोबाइल क्षेत्रका लागि ‘ग्रिन मोबिलिटी’ तर्फको प्रस्थान विन्दु बनेको छ ।





























प्रतिक्रिया